२४ वैशाख, काठमाण्डौ । नयाँ संविधानमा
राज्य पुन:संरचना र शासकीय स्वरूपका विषयमा सहमति जुटाउन द्यौ भएर विरक्त
मुडमा अरू नेताहरू बैठक बसिरहेका हुन्छन् । तर, नेकपा एमालेका नेता केपी
ओलीमा भने त्यस्तो विरक्ति देखिन्न । बरु उनी अरूलाई पनि हँसाउने गर्छन् ।
कुरा सुरु गरौँ गत साता सोमबार बसेको बैठकबाट जहाँ ओलीले निरास नेताहरूलाई
मज्जैले हँसाए । अघिल्लै दिन एमालेका तर्फबाट १२ प्रदेशसम्मको विकल्पमा
छलफल गर्ने प्रस्ताव आएको थियो । तर, ओली उपस्थित सो बैठकमा भने एमालेका
तर्फबाट थोरै प्रदेश बनाउनुपर्ने अडान प्रस्तुत भएको थियो ।
ओलीले सामथ्र्यको ख्याल नगरी पहिचानको
भावनामा डुबेर प्रदेशको संख्या बढाउँदा आउन सक्ने समस्याबारे बैठकमा रोचक
व्यंग्य सुनाएका थिए । बैठक स्रोतका अनुसार शासकीय स्वरूप र राज्यको
पुन:संरचनामा कुरा मिल्न नसकेपछि मतदानबाट टुंग्याउने भन्दै नेताहरू उठ्नै
लागेका बेला ओलीले प्रदेशहरूमा मुख्यमन्त्रीलाई घोडाको व्यवस्था गर्ने
निर्णय गर्नुपर्ने बताएका थिए । ‘थोरै प्रदेश बनाएर चल्न सक्नेगरी म्यानेज
गरौँ भन्दा तपार्इंहरू मान्नुहुन्न, अब धेरै प्रेदश बनाउँ’ बैठकमा ओलीको
भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रेदशमा सडक नभए पनि मुख्यमन्त्री त
चाहियो, राज्यमन्त्री पनि चाहिए, सांसदहरू त भइहाल्छन्,’ ओलीले व्यंग्य
कसेर भने, ‘प्रदेशमा मोटर पुर्याउन सकिँदैन मुख्यमन्त्रीज्यूहरूलाई
एक/एकवटा घोडाको व्यवस्था गरौँ, घोडाको टाउकामा राष्ट्रिय झन्डा राखेर
घोडेटो बाटो कुद्ने बन्दोबस्त पनि मिलाऊँ ।’
ओलीले गाडी चल्ने सडक सुविधा भएका
प्रेदशहरूमा प्रहरी र ट्राफिकले दिनभर केन्द्रीय र प्रादेशिक सरकारका
मन्त्री र सांसदलाई सलाम गरेर दिन बिताउनुपर्ने भविष्यवाणी गरे । गाडी
नचल्ने प्रदेशमा मुख्यमन्त्रीहरू घोडा, मन्त्रीहरू गधा चढेर हिँड्नुपर्ने
अवस्था आउन सक्ने उनले बताएका थिए । ‘सांसदको संख्या हजारभन्दा बढी हुन्छ,
केन्द्रीय र प्रेदशका मन्त्री र सांसदको ताँती त ठूलै पो हुन्छ,’ ओलीले
भने, ‘जनताले पनि राजनीतिबाहेक अरू काम गर्नु नपर्ने, सडक भएका ठाउँमा
प्रहरीले पनि मन्त्री र सांसदलाई सलाम गर्न दिनभर निधारबाट हात तल झार्नु
नपर्ने ।’ विकासको पूर्वाधार खडा गर्न नसकेका प्रदेशमा भने भेडीगोठलाई नै
संसद् भवन बनाउनुपर्ने उनले बताएको आजको सौय दैनिकले खबर छापेको छ ।
जातीय र अन्य पहिचानको भावना भड्काएर
प्रदेश बनाउने बाटोमा गए नागरिक गरिब हुँदै जाने र प्रदेश पनि गरिबका राज्य
हुने उनले बताउँदै आएका छन् । ‘डाँडावारि कमरेड, डाँडापारि कमरेड, मगर
कमरेड, मधेसी कमरेड जसलाई पनि बाँच्नका लागि आर्थिक हैसियत र सामथ्र्य
चाहिन्छ,’ ओलीले पार्टी बैठकमा भनेका थिए, ‘भोक लागेका बेला पहिचान खाएर
हुँदैन, जाडो भएका वेला पहिचान लाएर हुँदैन, आर्थिक समृद्धि भयो भने त जसको
पनि सम्मानित पहिचान बनिहाल्छ ।’

